काठमाडौं। सरकारले मुलुकका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूमा योग्यता (मेरिट) प्रणालीका आधारमा नेतृत्व चयन गर्ने नयाँ नीति अघि सारेको छ। राजनीतिक नियुक्तिको परम्परालाई तोड्दै खुल्ला प्रतिस्पर्धाबाट सक्षम व्यक्तिलाई जिम्मेवारी दिने स्पष्ट सन्देश सरकारले दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी हालै जारी अध्यादेशका कारण रिक्त हुन पुगेका स्वास्थ्य निकायहरूमा सेवा प्रवाह प्रभावित नहोस् भन्नका लागि तत्काललाई निमित्त प्रमुखहरू तोकिएको छ।
अत्यावश्यक सेवाका लागि निमित्तको जिम्मेवारी
नेतृत्वविहीनताका कारण बिरामीको उपचार र दैनिक प्रशासनिक कार्यमा अवरोध आउन नदिन मन्त्रालयले ९ वटा महत्त्वपूर्ण स्वास्थ्य संस्थाहरूमा कार्यवाहक प्रमुख तोकेको छ। पूर्णकालीन नेतृत्व चयन नहुँदासम्मका लागि यी निमित्त प्रमुखहरूले संस्थाको दैनिक कार्यभार सम्हाल्नेछन्।
जिम्मेवारी पाउने पदाधिकारीहरूको सूची
वीर अस्पतालः प्राडा प्रभा कोईराला (निमित्त निर्देशक)
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः प्राडा समिता पन्त
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रः सहप्राडा रविन्द्रभक्त तिमला
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) सहप्राडा इन्द्र लिम्बु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः डा नरेन्द्रविक्रम गुरुङ
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानः सहप्राडा विनम्र विष्ट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ) सहप्राडा सुरेश रसाइली
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर) डा उमेश नेपाल
स्वास्थ्य बिमा बोर्डः शकुन्तला प्रजापति












