काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सदस्यहरूले युरोलोजी तथा किड्नी अस्पतालमा २० प्रतिशत छुट पाउने भएका छन्। यस सम्बन्धमा बिहीबार नाफिज र अस्पतालबीच सम्झौता भएको हो।
सम्झौतापत्रमा नाफिजका अध्यक्ष मेनुका कार्की र अस्पतालका अध्यक्ष शिवकुमार कटवालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार नाफिजका सदस्यहरूले अस्पतालले प्रदान गर्ने सबै सेवामा २० प्रतिशत छुट पाउनेछन्।
नाफिज अध्यक्ष कार्कीले पत्रकारहरू निरन्तर कामको चापमा रहने भएकाले उनीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै यस्तो सम्झौता गरिएको बताइन्। नाफिजले सदस्यहरूको क्षमता अभिवृद्धिसँगै स्वास्थ्यसम्बन्धी क्षेत्रमा पनि काम अघि बढाएको उनले उल्लेख गरिन्।
सम्झौता अनुसार नाफिजका सदस्यहरूले एक वर्षसम्म उक्त सुविधा उपभोग गर्न पाउनेछन्।
सम्झौता कार्यक्रममा अस्पतालका अध्यक्ष कटवालले किड्नीसम्बन्धी समस्या धेरैजसो अवस्थामा ७० प्रतिशतभन्दा बढी बिग्रिसकेपछि मात्रै थाहा हुने भएकाले सबैले समयमै परीक्षण गराउनुपर्नेमा जोड दिए।
यसैबीच, विश्व किड्नी दिवसको अवसरमा नाफिजका ५० जना सदस्यहरूको निःशुल्क किड्नी परीक्षणसमेत गरिएको छ। अस्पतालका चिकित्सकहरूले सदस्यहरूको किड्नी परीक्षण गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका थिए।
किड्नी बिग्रिएपछि उपचार निकै महँगो हुने भएकाले समयमै परीक्षण गराएर सचेत हुन आवश्यक रहेको बताउँदै नाफिजका महासचिव निकेश खत्रीले आगामी दिनमा पनि अस्पतालबाट प्रदान हुने सेवामा २० प्रतिशत छुट सुनिश्चित गरिएको बताए।












