काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बिमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने गरी निर्णय गरेका छन्। स्वास्थ्य बिमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि सक्रियता देखाएका मन्त्री पौडेलले नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेका हुन्।
मन्त्रीको निर्णयअनुसार अब क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्ने छन्। स्वास्थ्य बिमा नियमावलीमा भएको व्यवस्था लागू गराउनका लागि मन्त्री पौडेलले मन्त्रिस्तरिय निर्णय गरेका हुन्।
यस आधारमा मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी पाउने सुविधामा नदोहोरिने गरी सुविधा दिन पत्राचार गरेको छ।
मन्त्री पौडेलले स्वास्थ्य बिमामा आकर्षण बढाउन तथा दिगोपनाका आधारमा बिमा थैली लागू गराउनसमेत तयारी गरेका छन्। तर, यस्ता थैली बनाउँदा बिमा कोष दुरुपयोग हुन नदिन सजगताका लागि मन्त्रालयले स्वास्थ्य बिमा कोषलाई निर्देशन जारी गरेको छ।












