काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) धरानको खानेपानीको समस्या समाधानका लागि सिंहदरबार पुगेका छन्। मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेपनि गाग्री भने प्रहरीले बरामद गरेको छ।
गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले प्रहरीले गाग्रीबिनै गेटबाट प्रवेश गराएका हुन्। उनले सिंहदरबार प्रवेश गर्ने क्रममा गाग्री ल्याउन नदिएपनि आफूलाई रोक भने नल्याएको जानकारी गराए। उनले आफू लोकप्रिय हुनका लागि नभई जिम्मेवारी पूरा गर्न काठमाडौं आएको बताए। उनले भने, ‘म लोकप्रिय हुनका लागि होइन। लोकप्रियका लागि कलाकार हुन्छ, हिरो हिरोनीले गर्छ। म जिम्मेवारी पूरा गर्न आएको हुँ। म खानेपानीको समस्या समाधान गर्न आएको हुँ।’
धरानको खानेपानीको समस्या समाधानका लागि खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय जाने गरी सोमबार उनी काठमाडौं आएका हुन्। उनले खानेपानी मन्त्रालयमा छलफल गरेपछि अर्थमन्त्रालय पुगेका छन्।
सिंहदरबार प्रवेश अगाडि उनले सामाजिक सञ्जालमा लेखेका थिए,‘आज १० बजे आसपासमा सिंहदरबार छिर्ने विचार छ। खानेपानी मन्त्री, अर्थमन्त्री र प्रधान मन्त्रीको कार्यालयमा गाग्रीसहित जानेछु। केन्द्रले धरानलाई विभेद नगरी सप्तकोशीको पानी ल्याउने योजनाको ठेक्का यही वर्षमा लगाइदिन पर्यो भन्ने माग हो।’












