काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पछिल्लोपटक भएको सुन तस्करीको अनुसन्धान सकिएको जनाएको छ । ब्युरोले सोमबार पत्रकार सम्मेलन गर्दै अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो ।
सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीले यस प्रकरणमा खुलेका थप तथ्यहरू सार्वजनिक गरे । सीआईबीले गरेको थप अनुसन्धानका क्रममा ३ हजार १९४.६६८ केजी सुन तस्करी भएको पाइएको हो । यसमध्ये ३६२.७७८ केजी ब्रेक सुमा लुकाएर र बाँकी अरु २ हजार ८३१.८९ केजी सुन पानी तान्ने मोटर लगायतका इलेक्ट्रोनिक सामानमा लुकाएर तस्करी गरेको पाइएको छ ।
यो सुन कुल ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २ सय ७२ रुपैयाँको हो । ठूलो परिमाणमा सुन तस्करी भए पनि त्यो सुन कहाँ छ भन्नेबारे भने अनुसन्धान नै भइरहेको प्रहरीको भनाइ छ ।
अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका दुईवटा पेमेन्ट गेटवेसमेत संलग्न भएको खुल्न आएको छ । पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको सीआईबी प्रमुख ज्ञवालीले जनाएका छन् ।
स्थापनादेखि यी गेटवेमार्फत १ खर्ब २३ अर्बको कारोबार रहेकोमा भौचर डिपोजिट गरी ९६ अर्बबराबरको कारोबार गरेको देखिएको छ । उक्त प्रकरणमा संलग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी ८ जना पक्राउ परेका छन् ।
ब्रेकसुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलो ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले २०८० भदौ ३१ गते २९ जना उपर अभियोगपत्र दायर गरेको थियो । उनीहरूबाट ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ मागदाबी गरिएको थियो । सीआईबीले पक्राउ गरेकामध्ये २४ जना अभियुक्तहरू पुर्पक्षका लागि थुनामा गएका छन् ।