ललितपुर । ललितपुरमा दुई दिने राष्ट्रिय अपांगता सम्मेलन सुरु भएको छ । तेस्रो विश्व अपांगता शिखर सम्मेलनको पूर्वसन्ध्यामा नेपालमा राष्ट्रिय अपाङगता सम्मेलनको आयोजना गरिएको हो ।
सम्मेलनको पहिलो दिन विश्व अपाङ्गता शिखर सम्मेलनमा सहभागी हुन जाने अपाङ्गता अधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँगको छलफललाई प्राथमिकताका राखिएको थियो भने सम्मेललनको दोस्रो दिन भने नेपाल सरकारका प्रतिनिधिसँगको छलफल हुनेछ ।
अपाङ्गता भएका नागरिक त्यसमा पनि सिमान्तकृत समुदायभित्रका अपाङ्गता भएका नागरिकका मुद्दाको मूल प्रवाहीकरण, राष्ट्रियकरण र अन्तर्राष्ट्रियकरण कसरी गर्न सकिन्छ भन्ने विषय नै दुवै दिनका छलफलको केन्द्रमा रहनेछ । अपाङ्गताका विविधता छन्, अपाङ्गताभित्रको अन्तरविविधता अझ खास छ, सम्मेलनका वक्ताहरुको भनाइ थियो ।
भाषा, जातजाति र भूगोलको विविधता, त्यसभित्र अपाङ्गता भएका नागरिकको अन्तरविविधता खास रुपमा केन्द्रिय बहसको विषय बन्नुपर्छ जो आजसम्म बन्न सकिरहेको छैन, अधिकारकर्मीहरुको मतऐक्यता थियो । अपाङ्गतामैत्री समावेशी विकासको अवधारणाको जगमा टेकेर अपाङ्गतासम्बन्धि राष्ट्रिय र अन्तर्राष्ट्रिय बहस छेडिनुपर्छ, कार्यक्रमका सहभागिहरुको साझा धारणा थियो ।
राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल (निडवान) की अध्यक्ष जमुना तामाङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संघीय संसद एवं कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति सांसद विमला सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सभापति सुवेदीले अपांगतामैत्री कानून निर्माणमा ध्यान दिने बताइन् ।

उनले भनिन्, ‘सदन र समितिमा आइपुग्ने कुनैपनि विधेयक चाहे त्यो निर्वाचन र निजामति कमचारी सम्बन्धित विधेयक होस्, अपांगतामैत्री छ कि छैन भन्नेमा ध्यान दिनेछु ।’ कानून निर्माण या संशोधनका सवालमा अपांगतामैत्रीको कसीमा हेर्ने र कहाँ के सच्याउन आवश्यक छ, त्यसका लागि आवश्यक सुझावको समेत आफुले अपेक्षा गरेको सुवेदीले बताइन् । मानव अधिकारको कोणवाट अपाँगता अधिकारको लागि लागिराख्ने प्रतिबद्धता सुवेदीको थियो ।
आफ्नो समितिको कार्यक्षेत्रभित्र रहेर अपांगतामैत्री कानून बनाउन पहल गर्नुका साथै संसदमा अपांगता भएका व्यक्तिहरुका मानव अधिकार र सवाललाई सधैं उठान गर्ने सभापति सुवेदीले प्रतिबद्धता जनाइन् । उनले अपांगता क्षेत्रमा काम गर्दा तल्लो तहसम्मै पुग्न पनि अपाङ्गता अधिकारकर्मीहरुलाई आग्रह गरेकी थिइन् ।
कार्यक्रममा विशेष अतिथि संविधानसभा सदस्य विनोद पहाडीले सरकारले देशभरीका अपांगता भएका व्यक्तिले भोगिरहेका समस्याका बारेमा संसदीय उपसमिति बनाएर अध्ययन गर्नुपर्ने बताएका थिए । यस्तै उनले सरकारले हस्ताक्षर गरेका अपांगता सम्बन्धी सन्धि सम्झौता कति कार्यान्वयन भए÷भएनन् त्यसको निर्मम रुपमा समिक्षा समेत गर्ने बेला आएको बताए ।

पहाडीले अहिले एकीकृत निर्वाचन ऐन संसदमा रहेको भन्दै उक्त ऐनले अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्वलाई ध्यान दिन नसकेको बताए । राज्यका प्रशासनिक बेन्च (सेना, प्रहरी, सशस्त्र प्रहरी)मा अपांगता भएका व्यक्तिहरुको सहभागितालाई समेत सुनिश्चित गर्न पनि उनले माग गरे ।
कार्यक्रममा अपांगता समावेशी विकास विज्ञ तथा अपाङ्गता अधिकार कोषका नेपाल प्रतिनिधि कृष्ण गहतराजले अपांगता आन्दोलनको मूल धारमा आउन नसकेको समूह आदिवासी, दलित, जनजाति, मधेशी, मुश्लिम, यौनिक तथा लैंगिक अल्पसंख्यक अपांगता भएका व्यक्तिहरुका सवाललाई पहिला राष्ट्रियकरण गर्ने, त्यसपछि अन्तर्राष्ट्रियकरण गर्दै हरेक क्षेत्रमा उनीहरुको पहुँच विस्तार गर्ने अपाँगता आन्दोलनको मर्म हुनुपर्ने बताए ।

सम्मेलन अन्तर्राष्ट्रिय भएका मुद्दाहरुका बारेमा, उपलब्धिका बारेमा सरोकारवाला र सरकारलाई प्रदान गरेका निष्कर्षात्मक सुझाव तथा अन्तर्राष्ट्रिय रुपमा उठेका सवाललाई राष्ट्रियकरण गर्दै ग्रामीण तहसम्म पुर्याउने विषयदेखि विश्व अपाङ्गता शिखर सम्मेलन विश्वव्यापी ऐेजेण्डा भएकोबारे सबै जानकार नभएको सन्दर्भमा राष्ट्रिय सम्मेलनको औचित्य हुने विश्वासका साथ दुई दिने राष्ट्रिय सम्मेलनको आयोजना गरिएको गहतराजले बताए ।
शिखर सम्मेलनको सम्मुखमा आइपुग्दा कहाँ के भइराखेको छ ?, नेपाल सरकारले शिखर सम्मेलनमा गरिनुपर्ने प्रतिवद्वताका बारेमा के गरिरहेको छ, के गर्नुपर्छ र संयुक्तरुपमा सरकार र सरोकारवाला कसरी जान सकिन्छ भन्ने सन्दर्भमा दुवै दिनका छलफल केन्द्रित हुने गहतराजले बताए ।

अधिकारकर्मी गहतराजले नेपालका तर्फबाट तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनमा सहभागी हुन पाउनु नै ठूलो उपलब्धी भएको बताए । ‘नेपालका अधिकारकर्मीहरुको सहभागिताले नेपाल अपाङ्गता भएका नागरिकको आन्दोलन र अधिकार दुवैप्रति संवेदनशिल छ भन्ने विश्वमञ्चमा दर्शाउँछ,’ गहतराजको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपालका महासचिव सुगम भट्टराईले जर्मनीको बर्लिनमा हुने तेस्रो अपांगता शिखर सम्मेलनमा नेपालका तर्फबाट अपांगताका क्षेत्रमा भएका नयाँ मुद्दा र असल अभ्यासहरुलाई उठान गर्नुपर्ने बताए ।

कार्यक्रमकी सभापति तथा निड्वानकी अध्यक्ष जमुना तामाङले शिखर सम्मेलनमा अपांगता भएका युवाहरुका मुद्दालाई विशेष प्राथमिकतासाथ उठान गर्नुपर्ने बताइन् ।
कार्यक्रममा कोशिशका मातृका देवकोटाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विश्व अपांगता शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित दुई दिने कार्यक्रमले नागरिक समाज, सरकारी र विकास साझेदार पक्षसँग छलफल गरेर के कस्ता प्रतिबद्धताहरु गर्न सकिन्छ भनेर निचोड निकाल्ने बताए ।

दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ नेपाल, कोशिश नेपाल, राष्ट्रिय आदिवासी जनजाति अपांग महिला संघ नेपाल तथा अपाङ्गता अधिकार कोषको सहयोग तथा साझेदारीमा आयोजित दुई दिने सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रमको संचालन डिडानकी अध्यक्ष पम्फा पुर्कोटीले गरेकी थिइन् ।
दुईसम्म संचालन हुने सम्मेलन अन्तर्गत दोस्रो दिनसम्म उठेका विषयलाई अप्रिल २ र ३ तारिखमा बर्लिन जर्मनीमा हुने तेस्रो शिखर सम्मेलनमा उठान गरिने आयोजक संस्थाको भनाइ छ ।












