काठमाडौं । गण्डकी प्रदेशसभा सांसद रेशम जुग्जालीले आफ्नो जिल्लामाथि बजेटले बेवास्ता गरेको भन्दै रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्। असार १ मा सार्वजनिक बजेटमाथि सोमबारको छलफलमा बोल्दै जुग्जालीले, “यो किताब म्याग्दीका लागि अर्थहीन भएकोले च्यात्न चाहन्छु,” भन्दै बजेट दस्तावेज च्यातेका हुन्।
पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जुग्जालीले मुख्यमन्त्री र मन्त्रीहरूले म्याग्दीको भूगोल नै नबुझेको आरोप लगाए। उनले बहुबर्षे योजनामा बजेटको उचित हिस्सा नराखिएको भन्दै ७० प्रतिशत पुराना योजनामा बजेट जानुपर्ने तर्क गरे।
म्याग्दीमा बजेट कम विनियोजन भएको भन्दै सांसद जुग्जालीले कांग्रेस–एमाले गठबन्धन सरकारमाथि कडा टिप्पणी गरे। उनले नेता कार्यकर्ताहरू जनताको नजरबाट बच्न मास्क लगाएर हिँड्नुपर्ने अवस्था आएको बताए।










