काठमाडौं, १९ भदौ। जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ। टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन्।
एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीले पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन्।
‘खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा ‘भीआईपी’ पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी छौँ। सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना,’ मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो। टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ।
प्रशिक्षणपछि टोली सेप्टेम्बर १७ तारिख टोकियोबाट एसियाड आयोजना हुने नागोया प्रस्थान गर्नेछ। कराते प्रतियोगिता सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछ।
नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मिनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नेछन्।
टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बू सहभागी हुनेछन्। टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंहलगायतले टोलीलाई बिदाइ गरेका थिए।
राखेपका पूर्व सदस्यसचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायत पनि टोलीलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए।












