काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टीलाई थप एकताबद्ध बनाउने वातावरण सिर्जना गरेको बताएका छन्। उनले उक्त निर्णयलाई जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने स्पष्ट पारेका छन्।
थापाले पार्टीका नेता–कार्यकर्ता र शुभेच्छुकलाई देशभित्र वा विदेश जहाँ रहे पनि जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणमा सकारात्मक भूमिका खेल्न आह्वान गरेका छन्। उनले पार्टी सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी आफ्नो भएको उल्लेख गर्दै सक्रिय रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
उनका अनुसार १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको छ र यसलाई सफल बनाउँदै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्। अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने सक्षम र सशक्त पार्टी निर्माणमा सबै एकजुट हुनुपर्ने उनको भनाइ छ।
सभापति थापाले समुन्नत नेपाल निर्माणमा योगदान दिने दिशामा पार्टीलाई अघि बढाउन सबै नेता–कार्यकर्तालाई एकढिक्का भएर लाग्न आग्रह पनि गरेका छन्।










