एजेन्सी। फ्रान्सको बोर्दो सहर नजिकै जंगलमा लागेको भीषण डढेलो लागेको छ। डढेलाका कारण हजारौं मानिस विस्थापित र्भएका छन्। आगो नियन्त्रणमा लिन दमकलकर्मीहरू लगातार प्रयास गरिरहेका छन्।
फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यस क्षेत्रको स्थिति अझै पनि अत्यन्तै कठिन रहेको बताएका छन्। उनका अनुसार आगो अनिश्चित दिशामा अघि बढ्दै बोर्दोतर्फ फैलिरहेको छ।
यद्यपि, अधिकारीहरूले हाललाई सहर खाली गराउने सम्भावना कम रहेको बताएका छन्।
शनिबार रातिदेखि आइतबार बिहानसम्म बोर्दोको दक्षिणमा रहेको जिरोन्द क्षेत्रका गाउँहरूबाट करिब ५५ हजार मानिसहरूलाई निकालिएको छ।
यो क्षेत्र आफ्नो अङ्गुरको बगैँचा र वाइन उत्पादनका लागि प्रसिद्ध छ। विगत एक सातादेखि युरोपका धेरै भागहरूमा जङ्गलमा डढेलो सल्किरहेको छ।
सबैभन्दा बढी असर फ्रान्स र स्पेनमा देखिएको छ, जहाँ हालसम्म ३ लाख ३० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।












