काठमाडौं। सुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि बिहीबार बिहानैदेखि तटीय क्षेत्र तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्य जारी छ।
जोखिममा परेका नागरिकहरूको सहायताका लागि नेपाली सेनाले बुधबार राति नै आवश्यक खाद्यसामग्री, टेन्ट र औषधिजस्ता राहत सामग्रीहरू प्रभावित क्षेत्रमा पुर्याइसकेको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायका साथै निजी क्षेत्रको पनि महत्त्वपूर्ण सहयोग र सहकार्य रहेको छ। हिजो बाढी आउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसहित सेना र निजी क्षेत्रका हेलिकोप्टरहरू परिचालन गरी उद्धार कार्य सुरु गरिएको थियो। सेनाको टोलीले रातभरि जमिनी (स्थल मार्गबाट) उद्धार कार्यलाई निरन्तर जारी राखेको थियो।
बिहानैदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रहरूमा नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरका साथै पैदल टोलीलाई अझ सक्रिय बनाएर फसेकाहरूको उद्धार तथा बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सरकारले नदी किनाराका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सम्पूर्ण संयन्त्रलाई राहत र उद्धारमा केन्द्रित गरेको छ।












