काठमाडौं। रसुवा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ३७७ पुगेको छ। अझै ५ हजार १३० जना बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार बिहान ११ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६५६ जनाको उद्धार गरिएको छ।
चितवनमा ३६४ जनाको शव भेटिएकाे छ। नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९८, रसुवामा १७८, गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव भेटिएकाे प्राधिकरणले जनाएकाे छ। उपचारका क्रममा काठमाडौंमा थप दुईजनाको मृत्यु भएको छ। हालसम्म १०४ जनाकाे मात्र सनाखत भएकाे छ।
बेपत्ताको संख्या ५ हजार १३० पुगेको छ। यसमा रसुवा, नुवाकोट तथा विदेशी नागरिकसमेत छन्।
३३३ घाइतेको उपचार जारी
विभिन्न १९ अस्पतालमा ३३३ जना घाइतेको उपचार भइरहेको छ। उपचारपछि २५६ जना डिस्चार्ज भइसकेका छन्।
उद्धारसँगै स्वास्थ्य सेवामा पनि सुरक्षाकर्मी परिचालन भएका छन्। नेपाली सेनाले ३ हजार ५५९ र सशस्त्र प्रहरी बलले ३ हजार ६०६ जनालाई स्वास्थ्य उपचार सेवा दिएका छन्। उद्धारका लागि सेनाले १ हजार ३४८ र सशस्त्र प्रहरीले २७२ वटा हवाई उडान गरेका छन्।
होल्डिङ सेन्टरमा ३ हजार ६८५ प्रभावित
प्रभावित नागरिकलाई अस्थायी रूपमा राख्न ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। तीमध्ये नुवाकोटमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन्।
उद्धार तथा राहतका लागि २१ हजार ६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। सेनाका ८ हजार ८८५, नेपाल प्रहरीका ७ हजार ९७५ र सशस्त्र प्रहरीका ४ हजार २०३ जना परिचालन भएका छन्।












