काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू काठमाडौँ जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्था गरेको छ।
प्रशासनले सूचना जारी गर्दै शान्ति सुरक्षा र सामुदायिक मर्यादालाई ध्यानमा राख्दै यस्तो कदम चालेको जनाएको हो।
रातिको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पार्ने र शान्ति सुरक्षा खलल पुर्याउने गतिविधि गर्न पाइने छैन। खेलको प्रत्यक्ष प्रसारण गर्न चाहने जुनसुकै संघ, संस्था वा कम्पनीले अनिवार्य रूपमा पूर्वअनुमति लिनुपर्नेछ।
स्वीकृतिका लागि तोकिएको निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालयको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।
संघसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलताको पूर्ण विश्लेषण गरेर मात्रै प्रशासनले अनुमति प्रदान गर्नेछ।
प्रशासनको सूचनाको अवज्ञा गरी कसैले पनि स्वीकृति बिना रातिको समयमा फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारणको नाममा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवं गैरकानूनी क्रियाकलाप गरेको पाइएमा तत्काल प्रचलित कानून बमोजिम कडा कारबाही गरिने व्यहोरा सूचनामा उल्लेख छ।












