काठमाडौं । वैशाख ११ देखि तय भएको कक्षा १२ को परीक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार अहिलेलाई वैशाख ११ को परीक्षा सार्ने निर्णय भएको हो । बैठक बसेर नयाँ मिति तोक्ने उनले बताए ।
आज बिहानमात्र परीक्षा बोर्डको बैठकले शिक्षक आन्दोलनका बाबजुद परीक्षा पूर्वनिर्धारित मितिमै सञ्चालन गर्ने बताएको थियो । शिक्षकहरू कक्षाकोठामा नफर्किएको अवस्थामा निजामती कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने विकल्पमा पनि सरकारको तयारी थियो ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।












