काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरेका खगेन्द्रप्रसाद र रुद्रकली नामका हात्तीलाई चितवनस्थित बसोबासस्थलबाट बिदाइ गरिएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका ती दुवै हात्तीलाई सोमबार औपचारिक रूपमा बिदाइ गरेको हो। नेपाल सरकारले आगामी पुस २ गते भैरहवामा कतार सरकारलाई हात्ती औपचारिक रूपमा हस्तान्तरण गर्ने जनाएको छ।

हात्तीलाई आवश्यक हावापानी अनुकूलता तथा ढुवानीको सहजतालाई ध्यानमा राख्दै भैरहवाबाट हस्तान्तरण गर्न लागिएको जनाइएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार खगेन्द्रप्रसाद र रुद्रकलीलाई चितवनबाट ट्रकमार्फत भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइनेछ भने पुस २ गते कतार एयरवेजको चार्टर फ्लाइटमार्फत सिधै कतार पठाइने तयारी गरिएको छ।
बिदाइ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हात्ती उपहारले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे ।
कतार पठाउन लागिएका खगेन्द्रप्रसाद भाले हात्ती छ वर्षको र रुद्रकली पोथी हात्ती सात वर्षको छन्। २०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने घोषणा गरेको थियो।












