काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार जना पूर्वप्रधानमन्त्री प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिएका छन् । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू आफ्ना परम्परागत तथा रणनीतिक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । त्यस्तै, नेकपा कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट चुनावी मैदानमा छन् ।
सोही दलका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।
२०७९ सालको आमनिर्वाचनमा ओली, प्रचण्ड र नेपाल क्रमशः झापा–५, गोरखा–२ र रौतहट–१ बाट निर्वाचित भएका थिए । सो निर्वाचनमा डा. भट्टराईले आफूले जित्दै आएको क्षेत्र छाडेर प्रचण्डलाई समर्थन गरेका थिए ।
यसपटक भने नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावी मैदानमा देखिएका छैनन् । २०४८ सालदेखि डडेलधुरा निर्वाचन क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका देउवाले लामो संसदीय यात्रापछि यसपटक विश्राम लिएका हुन् । पार्टीभित्र देखिएको विवाद र कानुनी प्रक्रियाका कारण कांग्रेसले उनलाई उम्मेदवार नबनाएको बताइएको छ ।
यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि यस निर्वाचनमा सहभागी छैनन् । इलाम क्षेत्र नम्बर १ बाट पटक–पटक चुनाव लड्दै आएका खनालको स्थानमा यसपटक नेकपाले पूर्वमेयर रणबहादुर राईलाई उम्मेदवार बनाएको छ ।
देउवा र खनाल चुनावी दौडबाट बाहिरिँदा ओली, प्रचण्ड, नेपाल र भट्टराई भने पुनः जनमत लिन प्रतिनिधिसभा प्रवेशको प्रयासमा छन् । चार पूर्वप्रधानमन्त्रीबीचको प्रत्यक्ष प्रतिस्पर्धाले यसपटकको निर्वाचनलाई थप चासो र चर्चाको विषय बनाएको छ ।












