काठमाडौं। बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती गरिने भएको छ।
केन्द्रीय सुरक्षा समितिको बुधबारको बैठकले बिहीबार देशभरि नै हेलिकोप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी रमा आचार्यले बताइन्। नेपाली सेनाको हेलिकोप्टरबाहेक अन्य निजी कम्पनीको हेलिकोप्टरबाट पनि गस्ती हुनेछ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो।
त्यस्तै, ड्रोन र सिसीटिभी क्यामेराबाट निगरानी हुनेछ। बैठकमा गृहमन्त्री अर्यालले निर्वाचनको अन्तिम तयारीबारे सुरक्षा निकायसँग जानकारी लिए। विभिन्न धार्मिक समुदाय र एक अर्काका धर्मबीच लक्षित गरेर विभिन्न सामाजिक सञ्जालमा गलत र भ्रामक टिप्पणी गर्ने घटनाहरू भएकामा यसमा विशेष रूपमा छलफल भएको थियो।
यसअघि बुधबार बिहान मात्रै ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जुम मिटिङमार्फत सम्पर्क गर्दै मन्त्री अर्यालले वस्तुस्थिती बुझेका थिए।












