काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिंगा इन्ष्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको समस्या समाधान नगरे वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी)रोक्ने चेतावनी दिएको छ ।
मन्त्रालयले विज्ञप्ति निकालेर घटनाको समाधान नगरे एनओसी रोक्ने चेतावनी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरुपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय शिक्षण सस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी प्रदान गर्ने कार्य स्थगित गर्न सकिने व्यहोरा पनि सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
केआईआईटीमा अध्ययनरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि आक्रोसित नेपाली विद्यार्थीहरूले उक्त विश्वविद्यालयमा असन्तुष्टि जनाएका थिए । उक्त संस्थाका सुरक्षाकर्मीदेखि कर्मचारीसम्मले नेपाली विद्यार्थीलाई गरेको दुर्व्यवहार र उनीहरुलाई कलेजबाट निष्काशन गरेका समाचार र भिडियो सार्वजनिक भएपछि नेपालमा चर्को विरोध भएको थियो ।
मन्त्रालयले विज्ञप्तिमा थप गनेको छ, ‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरू प्रतिकोभएको व्यवहार निन्दनीय छ ।’ घटनाको विषयमा समस्या समाधानको लागि कूटनीतिक पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको छ ।