काठमाडौँ। यस वर्ष कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि नै सुरु हुने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा विगतभन्दा चाँडो सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि नै कक्षा ११ को शैक्षिक सत्र सुरु गर्नेगरी कार्ययोजना तयार पारेको हो।
शिक्षा मन्त्रालयका सहसचिव रूद्रप्रसाद अधिकारीका अनुसार कक्षा ११ को पढाइ छिटो सुरु गर्नका लागि आवश्यक फाइल तयार भइसकेको र केही दिनमै यसबारे औपचारिक निर्णय हुनेछ।
एसईई नतिजा चाँडो आउँदा भर्नाको चटारो
यस वर्ष परीक्षा सकिएको २९ दिनमै अर्थात् गत वैशाख २८ गते एसईईको नतिजा प्रकाशित भएको थियो। नतिजा चाँडै आएपछि अहिले देशभरका सामुदायिक तथा निजी विद्यालयहरूले धमाधम विद्यार्थी भर्ना लिइरहेका छन्। विगतका वर्षहरूमा कक्षा ११ को पठनपाठन साउन वा भदौदेखि मात्र सुरु हुने गरेकोमा यसपटक शैक्षिक सत्रलाई ढिलाइ हुन नदिन र सिकाइ प्रक्रियालाई समयमै अगाडि बढाउन सरकारले यो कदम चालेको हो।
मन्त्रालयको तयारीसँगै सामुदायिक र निजी विद्यालयहरूले पनि आगामी असार १ गतेदेखि नै कक्षा ११ को नियमित पठनपाठन सञ्चालन गर्ने गरी आ-आफ्नो तयारी तीव्र पारेका छन्।
बिदा कटौती गरेर कोर्स पूरा गरिने
यस वर्षको विद्यालय तहको समग्र शैक्षिक सत्र गत वैशाख १५ गतेदेखि मात्र सुरु भएको थियो। ढिलागरी शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीहरूको सिकाइ र पाठ्यक्रम पूरा गर्ने कार्यमा कुनै प्रभाव पर्न नदिने रणनीति सरकारले अघि सारेको छ।
मन्त्रालयले तयार पारेको योजनाअनुसार चालु शैक्षिक सत्रमा हिउँदे र वर्षे बिदा कटौती गरिनेछ। यसका साथै पाठ्यक्रम समयमै बुझाउनका लागि शुक्रबार पनि पूरा समय (फुल डे) कक्षा सञ्चालन गर्ने योजना सरकारले ल्याएको छ












