काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षालाई आधारभूत शिक्षाको एक हिस्सा बनाउने निर्णय गर्दै यसलाई अधिकतम दुई वर्षभित्र सीमित राख्ने सहमति जुटाएको छ।
समितिको हालै सम्पन्न बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षासम्बन्धी प्रस्ताव अघि सारेका थिए, जसमा अधिकांश समिति सदस्यहरूले समर्थन जनाए।
बाल विकास शिक्षाको विषयमा जुटेको सहमति
१.स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही बाल विकासमा सिकाइप्रति उत्सुकता र सकारात्मक सोचको विकास गर्न विद्यालयमा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन गर्न अनुमति दिन सक्नेछ । ऐन प्रारम्भिक हुनुअघि सञ्चालनमा रहेका प्रारम्भिक बाल विकास केन्द्रलाई सम्बन्धित स्थानीय तहले प्रत्येक विद्यालयमा कम्तीमा एउटा रहने गरी समायोजन तथा पुनर्वितरण गर्न सक्नेछ ।
२.स्रोतको सुनिश्चितता गरी नेपाल सरकारले तोकेको मितिदेखि लागू हुनेगरी सार्वजनिक विद्यालयमा प्रारम्भिक बाल विकास तथा शिक्षालाई दुई वर्षे कार्यक्रमको रूपमा सञ्चालन गर्न सक्नेछ ।
३. कुनै पनि विद्यालयले पूर्वप्राथमिक शिक्षालाई २ वर्षभन्दा बढी अवधि हुने गरी सञ्चालन गर्न पाउनेछैन ।
४. हाल कार्यरत प्रारम्भिक बाल विकास तथा शिक्षामा बाल विकास सहजकर्तालाई खुला प्रतियोगिताबाट हुने परीक्षामा पहिलो पटक सहभागी हुन उमेरको हद लाग्नेछैन ।












