एजेन्सी । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो क्षेत्रमा आज (शनिबार) दिउँसो भीषण आगलागी भएको छ। आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन।
अग्निसमन विभागका अनुसार, विमानस्थलको गेट नम्बर ८ नजिक रहेको कार्गो गाउँमा करिब दिउँसो २:३० बजेतिर आगो लागेको हो। आगो तीव्र गतिमा फैलिँदा विमानस्थल प्रशासनले तत्काल सबै उडानहरू रोक्नुपरेको थियो।
भारतको दिल्लीबाट ढाका आउँदै गरेको एक उडानलाई कोलकाता डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ।
अहिलेसम्म कुनै मानवीय हताहतको रिपोर्ट प्राप्त भएको छैन, तर आगोले कार्गो क्षेत्रका सामग्रीहरूमा ठूलो क्षति पुगेको आशंका गरिएको छ। बाक्लो कालो धुवाँले वरपरको क्षेत्रलाई ढपक्क ढाकेको र हावामा प्रदूषण बढाएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अग्निसमन टोलीले आगो नियन्त्रणमा लिन प्रयास जारी राखेको छ भने प्रारम्भिक अनुसन्धानले विद्युत् सर्टसर्किटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ। विमानस्थलको सुरक्षाकर्मी र प्रहरी टोली घटनास्थलमा खटिएका छन्।












