काठमाडौं । नेपालमा डेंगु संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमण घट्दै गएको छ ।
सरकारले डेंगुको संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२औँ हप्ताबाट डेंगु संक्रमण घट्न थालेको हो । नेपालमा अहिले डेंगु संक्रमणको ४५औँ हप्ता चलिरहेको छ ।
४२औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार दुई सय चार, ४४ औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको छ ।
अहिलेसम्म २९ हजार एक सय ५८ मा संक्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाले जनाएको छ । उपत्यकामा छ हजार छ सय १२ जनामा डेंगु संक्रमण देखिएको छ । काठमाडौंमा चार हजार पाँच सय ९५, भक्तपुरमा आठ सय ३१ र ललितपुरमा एक हजार एक सय ८६ जनामा डेंगु संक्रमण देखिएको हो ।










