काठमाडौं । सन् २०२५ को सुरुवातसँगै डेंगुको संक्रमण तीव्र गतिमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी) का अनुसार हालसम्म देशभर २ हजार २१३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। ७७ वटै जिल्लामध्ये ७३ जिल्लामा संक्रमण फैलिनु डेंगु नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको संकेत हो।
पछिल्लो २४ घण्टामा मात्रै १० नयाँ संक्रमित थपिएका छन् भने एक हप्तामा १५७ जना नयाँ बिरामी देखिएका छन्। विज्ञहरूका अनुसार वर्षायाममा पानी जम्ने स्थान बढेसँगै संक्रमण फैलिने दर उच्च हुने गर्छ।
गण्डकी उच्च जोखिममा
डेंगुको संक्रमण दर क्षेत्रीय रूपमा हेर्दा गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ। हालसम्म त्यहाँ ६१२ जनामा डेंगु पुष्टि भइसकेको छ, पछिल्लो सातामा मात्र ६० नयाँ संक्रमित थपिएका छन्।
त्यसपछि बागमती प्रदेश दोस्रो स्थानमा छ, जहाँ ४८१ जना संक्रमित छन्। कोशीमा ४०२, लुम्बिनीमा ३६७ जनामा संक्रमण देखिएको छ। पछिल्लो सातामा मात्रै लुम्बिनीमा ३६ र बागमतीमा २२ नयाँ केस भेटिएका छन्।
अन्य प्रदेशमा तुलनात्मक रूपमा कम संक्रमण
मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने हालसम्म संक्रमण दर तुलनात्मक रूपमा कम देखिएको छ। तर, सरुवा रोग भएकाले पूर्वतयारी र जनचेतना अभावमा ती क्षेत्रमा पनि संक्रमण फैलन सक्ने जोखिम कायमै रहेको विज्ञहरू बताउँछन्।
स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न पानी जम्न नदिने, झोलामा ढाकेर राख्ने, घर वरिपरि सरसफाइ गर्ने र लामखुट्टे टोक्न नदिने उपायहरू अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
साथै, ज्वरो, टाउको दुखाइ, आँखा वरिपरि पीडा, वान्ता हुने लक्षण देखिएमा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिएको छ।












