उदयपुर। उदयपुरमा हावाहुरीका कारण ढलेको रुख र भाँचिएको हाँगाले लागेर दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। कटारी नगरपालिकामा सोमबार साँझ भएका छुट्टाछुट्टै घटनामा दुई जनाले ज्यान गुमाएका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी निरन्जन थापाका अनुसार ज्यान गुमाउनेमा कटारी नगरपालिका–८ थलीयाटारकी ४९ वर्षीया मिनामाया तामाङ र कटारी–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन्।
प्रहरीका अनुसार साँझ करिब साढे सात बजे कटारी नगरपालिका–५ तिनकुनेचोक नजिक वीरेन्द्र चौधरीको टिनको छाना भएको घरमा हावाहुरीले ढालेको सुकेको सालको रुख बजारिएको थियो। रुख ढल्दा घरधनी चौधरी गम्भीर घाइते भएका थिए। उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
उक्त घटनामा चौधरीकी नातिनी अन्दाजी पाँच वर्षीया बिनिषा, ४६ वर्षीय लीलाबहादुर दनुवार, २७ वर्षीय युवराज कार्की, ४६ वर्षीय प्रेमचन्द्र दनुवार र १६ वर्षीया अस्मिता परियार घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
चौधरीले घरमै किराना पसल सञ्चालन गर्दै आएका थिए। घाइतेमध्ये चार जना पसलमा आएका ग्राहक रहेको प्रहरीको भनाइ छ।
सैगरी कटारी नगरपालिका-८ थलीयाटारमा गोठबाट खसीबाख्रा घरतर्फ सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीले भाँचिएको कटमिरोको रुखको हाँगाले लागेर मिनामाया तामाङ गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुवै घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको डीएसपी थापाले बताएका छन्।
मौसम परिवर्तनसँगै हावाहुरीको जोखिम बढ्न थालेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।












