काठमाडौं। तीन खेलको टी-२० शृंखला खेल्न बंगलादेशको क्रिकेट टोली आगामी चैत दोस्रो साता नेपाल आउने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल र बंगलादेशबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तीनवटा टी–२० खेल हुनेछन्।
शृंखलाको पहिलो खेल चैत १२ गते, दोस्रो खेल चैत १४ गते र तेस्रो तथा अन्तिम खेल चैत १६ गते हुनेछ।
क्यान र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को संयुक्त पहलमा शृंखला आयोजना हुन लागेको क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
क्यानका अनुसार शृंखलाले नेपाल र बंगलादेशबीचको क्रिकेट सम्बन्धसँगै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।












