काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मिति सार्वजनिक गरेसँगै नेपालको विश्वकप यात्राको समीकरण पनि स्पष्ट हुन थालेको छ। लिग–२ मा कमजोर प्रदर्शनपछि नेपालका लागि अब विश्वकप पुग्ने सबैभन्दा यथार्थ विकल्प ‘विश्वकप छनोट प्लेअफ’ मात्र बाँकी रहेको देखिएको छ।
आईसीसीका अनुसार १० टोली सहभागी हुने अन्तिम विश्वकप छनोट प्रतियोगिता सन् २०२७ को फेब्रुअरी २२ देखि मार्च २३ सम्म हुनेछ। प्रतियोगिताको आयोजना स्थल भने अझै तय भएको छैन।
छनोट प्रणालीमा नयाँ मोड
यसपटक आईसीसीले विश्वकप छनोटको ढाँचामा परिवर्तन गरेको छ। १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेता मात्र सिधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा पुग्नेछ।
दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीहरूले त्यसपछि ‘सुपर सिरिज’ खेल्नेछन्, जहाँ शीर्ष स्थान हासिल गर्ने एक टोलीले मात्र विश्वकपको अन्तिम स्थान सुरक्षित गर्नेछ।
मुख्य विश्वकप भने अक्टोबर ४ देखि नोभेम्बर २१, २०२७ सम्म दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ।
नेपालका लागि शीर्ष चारको सम्भावना झिनो
लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा भएको पछिल्लो त्रिकोणात्मक सिरिजमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग चारै खेल गुमाएपछि शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त भएको छ।
नेपालले हालसम्म ३२ खेलमध्ये ११ जित, १९ हार र दुई खेलबाट अंक बाँड्दै २४ अंकसहित छैटौँ स्थान ओगटेको छ।
अब नेपालले ओमानमा ओमान र क्यानडाविरुद्ध अन्तिम चार खेल खेल्न बाँकी छ। तर गणितीय रूपमा सबै खेल जिते पनि र चौथो स्थानमा रहेको ओमानले बाँकी सबै खेल गुमाए पनि नेपालको शीर्ष चार यात्रा लगभग असम्भवजस्तै देखिएको छ।
अबको लक्ष्य : प्लेअफ जित्ने
लिग–२ बाट शीर्ष चारमा पुग्न नसके पनि नेपालको विश्वकप सपना भने समाप्त भएको छैन।
आईसीसीको नियमअनुसार लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगका उत्कृष्ट चार टोलीबीच आठ टोलीको विश्वकप छनोट प्लेअफ हुनेछ।
त्यहाँ शीर्ष चारमा पर्न सके नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता अर्को चक्रका लागि जोगाउनुका साथै १० टोली सहभागी हुने अन्तिम विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछ।
प्लेअफमा को–को?
हालको अवस्थाअनुसार लिग–२ बाट नेपाल, नामिबिया, क्यानडा र यूएई प्लेअफमा पुग्ने सम्भावना छ।
च्यालेन्ज लिगबाट भने जर्सी, कुवेत, युगान्डा र इटालीले स्थान सुरक्षित गरिसकेका छन्।
यी आठ टोलीमध्ये शीर्ष चार टोलीले अन्तिम विश्वकप छनोट खेल्नेछन्, जहाँ उनीहरूसँगै लिग–२ का शीर्ष चार टोली तथा आईसीसी एकदिवसीय वरीयताका ११औँ र १२औँ स्थानका पूर्ण सदस्य राष्ट्रहरू पनि हुनेछन्।
वेस्ट इन्डिज पनि जोखिममा
दुई पटकको विश्वविजेता वेस्ट इन्डिज पनि अहिले आईसीसी एकदिवसीय वरीयताको १०औँ स्थानमा छ। यदि उसले वरीयता सुधार्न सकेन भने सन् २०२३ जस्तै फेरि विश्वकप छनोट खेल्नुपर्ने अवस्था आउन सक्छ। २०२३ मा वेस्ट इन्डिज नेदरल्यान्ड्ससँग पराजित हुँदै पहिलो पटक विश्वकपबाट बाहिरिएको थियो।
नेपालका लागि अब ओमान सिरिज केवल लिग–२ को अन्तिम चरण मात्र होइन, प्लेअफअघि टोलीलाई लयमा फर्काउने महत्त्वपूर्ण अवसर पनि बनेको छ। विश्वकपको सपना जीवित राख्न नेपालले अब प्लेअफलाई नै निर्णायक युद्धका रूपमा लिनुपर्ने अवस्था सिर्जना भएको छ।












