काठमाडौं । नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय शृंखलाको घोषणा भएको छ। नेपालले आगामी डिसेम्बरमा भारत ‘ए’ टोलीसँग तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ।
शृंखलाका सबै खेलहरू काठमाडौंस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर मा आयोजना हुनेछन्। नेपाल क्रिकेट संघ (क्यान) र भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) बीच सहमति भएपछि शृंखलाको औपचारिक पुष्टि गरिएको हो।
यो निर्णय स्कटल्यान्डमा सम्पन्न भएको आईसीसी सम्मेलन का क्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द, क्यान सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि गरिएको हो।
सार्वजनिक तालिकाअनुसार पहिलो टी–२० खेल डिसेम्बर ९ मा, दोस्रो खेल डिसेम्बर ११ मा र तेस्रो तथा अन्तिम खेल डिसेम्बर १३ मा हुनेछ।
भारत ‘ए’ टोलीविरुद्धको यो शृंखला नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। यसबाट नेपाली टोलीले उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ भने घरेलु मैदानमा समर्थकले भारतीय क्रिकेटका उदाउँदा खेलाडीलाई नजिकबाट हेर्ने अवसर पनि पाउनेछन्।
यस शृंखलालाई नेपाल–भारतबीचको क्रिकेट सम्बन्ध थप मजबुत बनाउने र नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तर उकास्ने महत्त्वपूर्ण कदमका रूपमा समेत हेरिएको छ।












