काठमाडौं । विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुस्तान्तरणको नीति अघि सारेको नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा धेरैजसो पुराना र प्रभावशाली नेताहरूलाई उम्मेदवार बनाएन् । यसलाई पार्टीभित्रको रूपान्तरण र नयाँ पुस्तालाई अवसर दिने प्रयासका रूपमा हेरिएको छ।
यसपटक उम्मेदवारी नपाउने नेतामध्ये पूर्वसभापति शेरबहादुर देउवा प्रमुख नाम हुन्। लामो समयदेखि डडेल्धुरा आफ्नो बलियो निर्वाचन क्षेत्र बनाएका देउवाले अन्तिम समयसम्म उम्मेदवारीका लागि प्रयास गरे पनि पार्टीले उनलाई टिकट दिएन। डडेल्धुराबाट यसपटक नैनसिंह महरलाई उम्मेदवार बनाइएको छ।
कांग्रेस नेतृत्वले देउवालाई सक्रिय चुनावी राजनीतिभन्दा माथि उठेर संरक्षक तथा अभिभावकीय भूमिकामा रहन आग्रह गरेको जनाएको छ। पार्टीका एक पदाधिकारीका अनुसार देउवालाई पुनः उम्मेदवार बनाउँदा विशेष महाधिवेशनबाट आएको पुस्तान्तरणको सन्देश कमजोर हुने निष्कर्ष निकालिएको थियो। देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जित्दै सात पटक सांसद र पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
यस्तै, रूपन्देही–३ बाट चुनाव लड्न चाहेका बालकृष्ण खाणले पनि टिकट पाएनन्। उनको स्थानमा सुशील गुरुङलाई उम्मेदवार बनाइएको छ। खाण यसअघि गृहमन्त्री रहँदा विवादमा परेपछि यसपटक पार्टीले नयाँ अनुहारलाई अघि सारेको हो।
कञ्चनपुर–३ बाट चार पटक विजयी रमेश लेखक, नवलपुर पूर्वबाट तीन पटक सांसद बनेका सशांक कोइराला, निवर्तमान उपसभापति धनराज गुरुङ र पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि यसपटक उम्मेदवार सूचीमा परेनन्।
त्यसैगरी, काठमाडौं–१ बाट निर्वाचित हुँदै आएका प्रकाशमान सिंहलाई पनि टिकट दिइएन। उनको स्थानमा प्रबल थापालाई उम्मेदवार बनाइएको छ, जसले पार्टीभित्र नयाँ नेतृत्वलाई अघि बढाउने संकेत गरेको छ।
टिकट नपाएका नेताहरू बाहेक केही नेताहरूले स्वयं चुनाव नलड्ने घोषणा पनि गरेका छन्। उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसालले पहिले नै चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने घोषणा गरेका थिए। पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि नैतिक कारण देखाउँदै चुनाव नलड्ने निर्णय गरेका छन्।
यसैगरी, विभिन्न जिल्लाका वर्तमान तथा पूर्व सांसदहरू—सुर्खेत, धादिङ, काठमाडौं, सोलुखुम्बु लगायत क्षेत्रका नेताहरूले पनि यसपटक चुनाव नउठ्ने बताएका छन्।
![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-750x375.jpg)











