काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिन आइतबार बसेको बन्दसत्रले नयाँ निर्वाचन समिति गठन गरेको छ। डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए) का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो।
विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेश गरेका छुट्टाछुट्टै दुई प्रस्तावमाथि छलफल भइरहेका बेला नयाँ निर्वाचन समिति गठन गरिएको हो।
निर्वाचन समितिमा अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेका छन्। कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले निर्वाचन समिति गठन गरिएको जानकारी दिएकी हुन्।
नयाँ निर्वाचन समितिका संयोजक सीताराम केसीले तत्काल निर्वाचन प्रक्रिया सुरु गरिने बताएका छन्। यसअघि निर्वाचन समिति संयोजकको जिम्मेवारी खम्ब खातीले सम्हाल्दै आएका थिए।












