काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने मनोविज्ञान र मुडमा रहेको बताएका छन्।
शनिबार विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शर्माले भने, ‘हामी नयाँ ढंगले जाने मनोविज्ञान र मुडमा छौँ। नयाँ आशा जगाएर जान्छौँ।’ उनले पार्टी र देशलाई बलियो बनाउन नयाँ सोच र दृष्टिकोण आवश्यक रहेको बताए।
शर्माले कांग्रेसभित्रको नविन सोचको खोजि गर्दै अघि बढ्ने योजना राखेको बताए। ‘देशलाई शासन मात्रै होइन, सुशासन पनि दिन्छौँ,’ उनले भने। जेनजी आन्दोलनपछिको परिस्थितिमा नेतृत्वलाई मात्र नभई आफू र देशलाई पनि बदल्नुपर्ने उनको भनाइ थियो।’बदलिएको समय अनुसार, कांग्रेसलाई बदल्नुछ। हामी बद्लिन पनि सक्छौँ, देशलाई बदल्न पनि सक्छौँ। कांग्रेस पनि बदल्छौँ, देश पनि बदल्छौँ।’
महामन्त्री शर्माले जेनजी आन्दोलनमा ध्वस्त भएका संरचनासँग समाजलाई जोड्ने आवश्यकता औंल्याए। ‘ध्वंस भएका भवन मात्रै होइन, मनलाई पनि जोड्न विशेष महाधिवेशनमा उभिएका छौँ,’ उनले भने।
कांग्रेसमा भएको कमजोरीको जिम्मेवारी आफूहरूले पनि लिने उनले स्वीकार गरे। ‘अहिलेसम्म जेजस्ता कमजोरी भएका छन्, ड्राइभिङ सिटको छेउमा बसेकाले त्यसको केही हिस्सा हामी पनि लिन्छौँ। त्यसलाई स्वीकारेर हामीले भनेका हौँ, पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन, नयाँ ढंगले जानुपर्छ।’
शर्माले कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार चलाउँदा पनि आशा जगाउन नसकेको टिप्पणी गरे। ‘हामी दुईवटा दल मिलेर पनि आशा र विश्वास दिलाउन सकेनौँ। जेनजीबाट नकारात्मक बन्न जरुरी छैन। उनी अन्तरिक्षबाट आएका थिएनन्, हाम्रै काखमा हुर्के बढेका थिए।’
उनले कांग्रेसलाई विभाजित नगरी सद्भाव, सुशासन र समुन्नतिलाई मूल मन्त्र बनाएर अघि बढ्नुपर्ने बताए। ‘हामी जन्मिँदा कांग्रेस थियौँ, मर्दा पनि कांग्रेस भएर मर्नेछौँ। कांग्रेसलाई विभाजित गर्नलाई होइन, स्पात जस्तो बनाउनका भेला भएका हौँ। सिंगो कांग्रेसको नेतृत्व गर्नेगरी अघि बढ्छौँ, सिंगो देशको नेतृत्व गर्नेगरी अघि बढ्छौँ।’












