काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्।
आयोजक पक्षका अनुसार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेदेखि सुरु गरिएको हो। कार्यक्रमस्थलमा दिइएको जानकारीअनुसार हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिको नाम दर्ता भइसकेको छ।
कांग्रेसमा देशभर गरी कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन्। ४९.३४ प्रतिशतको हिसाबले हालसम्म २ हजार ३ सय ४० जना प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्।
सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर नाम दर्ता प्रक्रिया सञ्चालन गरिएको छ। भृकुटीमण्डपको मूलगेटसँगै रहेका स्टलहरूबाट नाम दर्ता प्रक्रिया तीव्र रूपमा जारी छ।
महाधिवेशन प्रतिनिधिहरूलाई नाम दर्ताका क्रममा परिचय खुल्ने कुनै कागजात, एक प्रति पासपोर्ट साइजको फोटो तथा एक हजार रुपैयाँ दर्ता शुल्क साथमा ल्याउन आयोजकले अनुरोध गरेको छ।
गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए। कांग्रेस विधानको दफा १७ (९२०) अनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
संस्थापन पक्षको बेवास्तापछि विधानको उक्त दफालाई आधार मानी कांग्रेसलाई पुनर्जागरण गर्ने उद्देश्यसहित महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुईदिने दोस्रो विशेष महाधिवेशन आजबाट सुरु भएको हो।












