पोखरा। ‘चिनौँ, चाखौँ, अपनाऔँ र प्रवर्द्धन गरौँ’ नाराका साथ पोखरामा नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप कार्यक्रम आयोजना हुने भएको छ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना तथा नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघको सहकार्यमा आगामी २० असारमा पोखरा-५, डुम्रीबोटमा कार्यक्रम हुनेछ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको विशिष्ट आतिथ्यतामा हुने आयोजकले जनाएको छ।
नेपालमा कफी खेतीप्रति आकर्षण र कफी संस्कृति बढ्दै गइरहेको अवस्थामा कफी क्षेत्रको मूल्य शृङ्खलाका विषयमा एउटै थलोबाट जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बोर्डका निमित्त क्षेत्रीय निर्देशक चन्द्र पुरीले बताए।
उनका अनुसार कार्यक्रममा नेपालका सबै प्रदेशबाट कफी उत्पादक, व्यवसायी, सरोकारवाला एवं उपभोक्ताहरूको सहभागिता रहनेछ। पछिल्लो समय पोखरा नेपाली स्पेसियालिटी कफीको प्रमुख केन्द्र का रूपमा स्थापित हुँदै गएकाले यस अभियानले नेपाली कफीको विशिष्ट पहिचान र स्वादलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
कार्यक्रममा राष्ट्रिय कफी च्याम्पियनसिपका विजेतालाई अवार्डसहित सम्मान गरिने भएको छ भने कफी नर्सरी तथा बगैँचा अवलोकन, स्पेसियालिटी कफी ब्रुइङ प्रदर्शन र कफी बार उपकरणहरूको प्रदर्शनी हुनेछ।
त्यस्तै, नेपालका उत्कृष्ट कफीहरूको निःशुल्क सार्वजनिक कपिङ र निःशुल्क कफी स्वाद परीक्षण हुनेछ।
कफी प्रशोधन पहिचान प्रतियोगिता र कफीसम्बन्धी मनोरञ्जनात्मक खेलसँगै बीउदेखि कपसम्मुको कफी मूल्य शृङ्खलाबारे जानकारीका साथै कफीको गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया र विज्ञहरूबाट प्राविधिक परामर्श हुने जनाइएको छ।
सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको यस कार्यक्रममा कफी उत्पादक किसान, प्रशोधनकर्ता, व्यापारी, सहकारी, क्याफे सञ्चालक तथा कफीप्रेमी सबैलाई सहभागी भई नेपाली कफीको बजार प्रवर्द्धन अभियानलाई सशक्त बनाउन आयोजकले आग्रह गरेको छ।












