काठमाडौँ । उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ४१ ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) ट्राफिक प्रहरीले फेला पारी धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १९ ओटा मोटरसाइकल र २२ ओटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन्।
काठमाडौँ उपत्यकाको जगाती, ठिमी, थली, नरेफाँट, काडाँघारी, लैनचौर, नयाँबानेश्वर, हात्तिसार, एयरपोर्ट, पुरानो बसपार्क, स्वयम्भू, गोकर्ण, सुन्दरीजल, कपन, धापाखेल, गल्फुटार, नयाँ बसपार्क, बालाजु लगायतका स्थानबाट वास्तविक र नक्कली नम्बर प्लेटसहित सवारी साधन फेला परेको प्रहरीले जनाएको छ।
गत साउनदेखि आजसम्म ट्राफिक प्रहरीले ५२ ओटा चोरी भएका दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण गरिसकेको छ। यसैबीच चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको छ।
आर्थिक वर्ष २०८०/८१ मा ४१७ र २०८१/८२ मा ५०३ ओटा मोटरसाइकल तथा स्कुटर ट्राफिक प्रहरीले धनीलाई बुझाइसकेको तथ्यांक छ। प्रहरीले सवारी साधन चोरी तथा हराउन नदिन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक र सुरक्षा साइरन जडान गर्न आग्रह गरेको छ। साथै, सवारी हराएमा ट्राफिक प्रहरीको हटलाइन १०३ वा नेपाल प्रहरीको १०० मा सम्पर्क गर्न तथा नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन्।












