काठमाडौं । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले देशभर आकस्मिकबाहेकका सम्पूर्ण सेवा आजदेखि बन्द गरेको छ।
संघले असार १७ गतेदेखि नै कालोपट्टी बाँधेर सेवा दिने आन्दोलनको घोषणा गरेको थियो। आन्दोलनलाई थप सशक्त बनाउँदै संघले आजदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेपछि बिरामीहरु ठूलो समस्यामा परेका छन्।
वीर अस्पताललगायत देशभरका अस्पतालहरूमा आन्दोलनको प्रत्यक्ष असर देखिएको छ। ओपीडी सेवा ठप्प हुँदा टाढाटाढाबाट आएका बिरामी उपचार नपाएर अलमलमा परेका छन्। कतिपय बिरामी रिपोर्ट देखाएर फर्किने योजनासहित अस्पताल पुगेका थिए, तर सेवा बन्द हुँदा उनीहरू खान बस्नसमेतको समस्यामा परेका छन्।
चिकित्सक संघले उपभोक्ता अदालतको निर्णयलाई चिकित्सकहरूको स्वतन्त्र अभ्यासमाथिको हस्तक्षेप भन्दै आन्दोलन चर्काएको हो। तर आन्दोलन कहिलेसम्म चल्ने भन्ने टुंगो नभएको कारण बिरामीहरू अन्योलमा परेका छन्।
संघले सरकारले चाँडो समस्याको समाधान नगरेमा आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएको छ।












