एजेन्सी । लन्डन क्बल चेल्सीले कन्फरेन्स लिगमा सबैभन्दा ठूलो जितको कीर्तिमान बनाएको छ । चेल्सीले बिहीबार राति भएको खेलमा अर्मेनियाली क्लब एफसी नोआलाई ८–० गोलअन्तरले पराजित गरेको हो ।
गत सिजन लुडोगोरेट्सलाई ७–१ ले हराउँदै नर्ड्सजेल्यान्डले ठूलो जितको कीर्तिमान बनाएको थियो । तर, घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा जोआओ फेलिक्स र क्रिस्टोफर एनकुन्कुले दुई–दुई गोल गरेपछि चेल्सी उक्त कीर्तिमान भंग गर्न सफल भएको हो ।
जितसँगै अपराजित रहेको चेल्सी कन्फरेन्स लिगको शीर्ष स्थानमा उक्लेको छ । चेल्सीले तीन खेलबाट नौ अंक जोडेको छ । अन्य पाँच टोलीको पनि समान अंक छ । तर, उत्कृष्ट गोल अन्तरका कारण चेल्सी तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो ।












