काठमाडौं । ‘एचपीभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए । ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र विस्तारै प्रदेशमा पठाइने जानकारी दिए ।
‘एचपीभी’ खोप लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा नेपाल आइपुगेको हो । सरकारले किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्न थाल्नेभएको छ ।
पन्ध्रदिने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरी खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनका अनुसार १७ लाख ७० हजार मात्र गाभीले नेपाललाई उपलब्ध गराउने छ ।












