काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ। अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिए।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्नेगरी गत कात्तिक ११ गते मन्त्रीस्तरीय निर्णय गरेसँगै अस्पतालले उक्त निर्णयलाई कार्यान्वयनमा ल्याएको हो।
सरकारले सरकारी अस्पतालमध्ये भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, कान्ति बाल अस्पताल काठमाडौँ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पौडेल नियुक्त भएलगत्तै १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार सेवा प्रदान गर्नेगरी पहल सुरु गरेका थिए।
बालबालिकाको क्यान्सर रोगको उपचारसँगै क्यान्सरको उपचारमा आवश्यक पर्ने ३५ प्रकारका औषधि निःशुल्क प्रदान गरिनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत २०८० चैत १४ मा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधि प्राप्तिका लागि सम्झौता गरेको थियो।
नेपालमा कूल मृत्युमध्ये दुईतिहाइभन्दा बढी अर्थात् ७१ प्रतिशतमा नसर्ने रोग कारण हुने गरेको र त्यसमध्ये ११ प्रतिशतको क्यान्सर रोगका कारण ज्यान जाने गरेको मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा सन् २०२२ मा २२ हजार क्यान्सर नयाँ बिरामी देखिएकामा १४ हजार बढीले ज्यान गुमाएको र हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको बताइएको छ।