पाेखरा। गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले घर, पुल र जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार बाढीले विभिन्न स्थानका झोलुङ्गे तथा पक्की पुल बगाउनुका साथै घरहरूमा क्षति पुर्याएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही वडाको सिर्दिबासमा बस्ने रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको मन्त्रालयले जनाएको छ।
धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको प्रारम्भिक विवरणमा उल्लेख छ।
धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ घर जोखिममा रहेको मन्त्रालयले जनाएको छ।
बाढीले आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बगाएको छ। यसैगरी, चुमनुब्री गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ।
आरुघाट गाउँपालिका–९ नयाँपुलमा आरुघाटबाट धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एक भाग बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त सडकको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको मन्त्रालयले जनाएको छ।
३३ स्वास्थ्य संस्था र उद्धार टोली तयारी अवस्थामा
बाढीबाट प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाको अवस्थाबारे जानकारी दिँदै मन्त्रालयले फिलिम, सल्लेरी, जगत र माछाखोलाका स्वास्थ्य संस्थाहरू माथिल्लो उचाइमा रहेकाले तुलनात्मक रूपमा कम जोखिममा रहेको जनाएको छ।
सम्भावित स्वास्थ्य समस्या तथा आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली ९आरआरटी० र प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण प्रारम्भिक भएकाले बाढीबाट भएको कुल क्षति तथा प्रभावित घरपरिवारको यकिन विवरण आउन बाँकी छ।












