काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल-भूटानअन्तर्गत नेपालभरका १५० भन्दा बढी रोटरी क्लबहरूले एकै दिन सामूहिक रूपमा वृक्षारोपण गरेका छन्। उक्त दिनलाई “रोटरी ट्री प्लान्टेशन डे” को रूपमा मनाउँदै क्लबहरूले देशभर एकैदिनमा करिब ५० हजार बोट बिरुवा रोपेका हुन्।

रोटा वर्ष २०२५/२६ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले आफ्नो कार्यकाल सुरु हुनासाथ नै वातावरण संरक्षणलाई प्राथमिकता दिँदै ५० हजार वृक्षारोपणको लक्ष्य राखेका थिए। उक्त लक्ष्य प्राप्त गर्न सबै क्लबहरूलाई सक्रियताका साथ सहभागी हुन अपील गरिएको थियो।
गभर्नर कोइरालाको मार्गदर्शनमा क्लबहरूले नयाँ रोटा वर्ष प्रारम्भसँगै वृक्षारोपणका लागि आवश्यक गृहकार्य तथा तयारी अघि बढाएका थिए। शनिबार देशभरका केही क्लबहरूले संयुक्त रूपमा भने केहीले एकल रूपमा वृक्षारोपण गरेका हुन्। कार्यक्रमहरू स्थानीय सरकार, सामाजिक संस्था, गुठी संस्थान लगायत साझेदारहरूको सहकार्यमा सम्पन्न भएका थिए।
वृक्षारोपणमा क्लबहरूद्वारा देखाइएको सहभागिता, उत्साह र समर्पणप्रति प्रशंसा गर्दै गभर्नर कोइरालाले यो दिनलाई ऐतिहासिक भन्दै सबैप्रति आभार व्यक्त गरे। उनले भने, “रोटरियनहरूले आफूहरू ‘पिपुल्स अफ एक्सन’ भएको प्रमाण दिएका छन्। आजको वृक्षारोपण कार्यक्रम राष्ट्रिय पर्वसरह बन्यो। यस्तो उत्साह आउँदा दिनहरूमा पनि कायम रहनेछ भन्नेमा म विश्वस्त छु।”

उनले वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा रोटरीको संवेदनशीलता उजागर गरेको मात्र नभई, क्लबहरू र सदस्यहरूबीच भावनात्मक सम्बन्ध पनि विकास गरेको बताए। गभर्नर कोइरालाले रोटरी र अन्य सामाजिक संस्थाहरूबीच सहकार्य, समन्वय र साझेदारी संस्कृतिको महत्व समेत कार्यक्रमले उजागर गरेको बताए।
यस कार्यक्रमले रोटरियनहरूलाई समुदायमा पुग्ने अवसर दिएको र स्थानीय आवश्यकताहरू पहिचान गर्न सहयोग पुगेको भन्दै गभर्नर कोइरालाले क्लबहरूलाई भविष्यमा प्रभावकारी सेवा कार्यका लागि मार्गदर्शन मिलेको उल्लेख गरे।












