काठमाडौं । हमासले सोमबार राति इजरायललाई हस्तान्तरण गरेका चार जना शवमध्ये एक नेपाली बन्धक विपिन जोशीको पनि रहेको इजरायली सेनाले पुष्टि गरेको छ।
तेलअभिभस्थित अबु काबिर फरेन्सिक संस्थानमा गरिएको डीएनए परीक्षणपछि विपिनसहित चारै जनाको शवको पहिचान पुष्टि भएको इजरायली सेनाले जनाएको छ। सेनाका अनुसार परीक्षणपछि प्राप्त विवरण परिवारलाई औपचारिक रूपमा जानकारी दिइएको छ।
सेनाले अबु काबिर फरेन्सिक संस्थानले अनुसन्धान प्रक्रिया पूरा गरेपछि उनीहरूको मृत्युको कारण र अवस्थाबारे अन्तिम निष्कर्ष सार्वजनिक गरिने जनाएको छ।
इजरायली सेनाले विपिनको हत्या युद्धको पहिलो महिनामै गाजामा बन्धक अवस्थामै गरिएको दाबी गरेको छ। तर हमासले भने इजरायली हवाई आक्रमणका क्रममा विपिनको मृत्यु भएको दाबी गरेको थियो।
विपिन जोशी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका थिए। २०२३ अक्टोबर ७ मा हमासले अलुमिम किबुजमा आक्रमण गर्दा उनी बन्धक बनेका थिए। सोही दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए।












