काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव राखेका थिए। बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हाे।
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्काउने विषयमा एमालेभित्र लामो समयदेखि छलफल हुँदै आएको थियो। राष्ट्रपतिको दुई कार्यकाल पूरा गरी २०७९ सालमा पदबाट बाहिरिएपछि भण्डारीले पुनः एमालेको राजनीतिमा सक्रिय हुने संकेत गरेकी थिइन्।
राष्ट्रपति पदबाट बाहिरिएपछि उनले एमालेको सदस्यता नवीकरण गर्दै आफू एमालेमै रहेर राजनीतिक यात्रा अघि बढाउने बताएकी थिइन्। तर उनको सदस्यता नवीकरणको विषय एमालेले केही समय ‘होल्ड’ गरेको थियो।
भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। एमालेको तत्कालीन नवौं महाधिवेशनबाट उनी उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। त्यसपछि २०७२ सालमा राष्ट्रपति निर्वाचित भएपछि उनले पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुँदै संवैधानिक भूमिकामा प्रवेश गरेकी थिइन्।
राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि भने उनको राजनीतिक सक्रियतालाई लिएर एमालेभित्र बहस हुँदै आएको थियो। विशेषगरी पार्टीको नेतृत्व तहमा उनको पुनरागमन कुन भूमिकाबाट हुने भन्ने विषय चर्चामा थियो।
बिहीबारकै सचिवालय बैठकमा पनि भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने विषयमा छलफल भएको थियो। त्यसपछि अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा औपचारिक प्रस्ताव राखेका हुन्।
केन्द्रीय कमिटीबाट प्रस्ताव अनुमोदन भएसँगै भण्डारी एमालेको नेतृत्व संरचनामा वरिष्ठ नेताको हैसियतमा रहने भएकी छन्। यो निर्णयसँगै लामो समय संवैधानिक भूमिकामा रहेकी भण्डारी पुनः एमालेको औपचारिक नेतृत्व संरचनामा फर्किएकी छ।












