रसना ढकाल, अधिवक्ता
बाढी प्रभावित क्षेत्रको स्थलगत रिपोर्टिङ सकेर फर्किंदै गर्दा देखिएका दृश्यहरू आँखामा अझै झलझली आइरहेका छन्। बगरमा थुप्रिएका शव, आकाशमा घुमिरहेका हेलिकोप्टर, आफन्तको शव आएको छ कि भनेर दिनहुँ रंगशाला धाइरहेका मानिसहरू र सुरक्षाकर्मीलाई एउटै प्रश्न- ‘मेरो मान्छे भेटियो कि?’
यी दृश्यहरू केवल विपद्का दृश्य थिएनन्, आफन्त गुमाएका परिवारका अन्तहीन प्रतीक्षाका कथा थिए।
००००
‘दिदी, तपाईँहरू त्यो बगरमा नजानुहोस्। हामीले त परिवार गुमायौँ। हजुरहरूलाई त्यस्तो नपरोस्।’
आँखाभरि आँसु पार्दै उनी रुन थालिन्। हामीले उनलाई सोध्यौँ, ‘तपाईँको परिवार पनि बाढीमा पर्नुभएको हो?’
उनको जवाफ थियो, ‘हो। मेरो पतिलाई बाढीले कहाँ लग्यो, थाहा छैन। मेरो श्रीमान् आउनुभयो कि भनेर म हरेक दिन यहाँ हेर्न आउँछु।’
उनी थिइन्- नुवाकोट, विदुर–५ निवासी सबिना खातुन।
व्यवसाय गरेर जीवन गुजारा गरिरहेकी सबिनाको जीवन भाद्र १० गते भोटेकोसीमा आएको बाढीले एकाएक बदलिदियो। बाढीले उनका श्रीमान्लाई बगाएर लगेपछि उनी हरेक दिन आफन्त भेटिने आशामा बगर, शव राखिएको ठाउँ र आसपासका क्षेत्रमा पुगिरहेकी छन्।
सबिनासँग कुरा गर्दागर्दै अर्की महिला आइपुगिन्। त्यहाँ उनको फर्निचरको पसल रहेछ। भर्खरै मात्र सुरु गरेको व्यवसाय बाढीले ध्वस्त बनाएको रहेछ। आफ्नो व्यवसायसँगै जीवनका धेरै सपना पनि बाढीले बगाएको पीडा सुनाउँदै उनी रुन र कराउन थालिन्।
कसैको श्रीमान् हराएका छन्, कसैको व्यवसाय। कसैको घर छैन, कसैको परिवार नै छैन। भोटेकोसीको बाढीले बगरमा छाडेका यी दृश्यहरू हेर्दा विपद्ले मानिसको जीवनमा कति ठूलो शून्यता ल्याउँछ भन्ने अनुभूति हुन्थ्यो।
००००
‘मेरो आमालाई बालुवा र माटोले पुरेको छ। मेरी आमा यहीँ हुनुहुन्छ। तपाईँहरूसँग भएको उपकरण ल्याइदिनु न। मेरी आमालाई घरमुनिबाट निकालौँ। मलाई पूरा विश्वास छ, मेरी आमालाई बगाएको छैन। उहाँ यही घरमुनि हुनुहुन्छ।’
नुवाकोट, देवीघाट निवासी ७७ वर्षीया डिलकुमारी न्यौपानेलाई भाद्र १० गते आएको भोटेकोसीको बाढीले घरमुनि पुरिदिएको उनका छोरा विष्णुप्रसाद न्यौपाने बताउँदै थिए।
घटना हुँदा आमासँग कोही थिएन। घटना हुनुभन्दा केही मिनेटअघि मात्र सुरक्षाकर्मीहरूले माइकिङ गरेका थिए। बाढी आउँदैन भन्दै आमाले आफ्ना नातिलाई पनि जान भन्नुभएको रहेछ। तर उहाँ आफैँ भने भाग्न सक्नुभएन।
यति सुनाउँदा विष्णुप्रसाद भक्कानिन थाले।
कामको सिलसिलामा आफू र परिवार काठमाडौंमा बस्दै आएको बताउँदै उनले आमालाई खोज्न देवीघाट आएका थिए। आँखाभरि आँसु पार्दै उनी भन्दै थिए-
‘मेरी आमालाई जिउँदो ल्याइदेऊ, हे जालपा देवी।’
त्यो आवाजमा एउटै आशा थियो- आमा कतै जीवितै हुनुहुन्छ । उद्धारकर्मीले उहाँलाई निकालिदिनेछन्।
तर विपद्ले छाडेको भग्नावशेषभित्र आशा र निराशाको सीमा छुट्याउन कठिन थियो।
००००
‘ए पुलिस नानी, आर्मी नानी, हेलिकप्टरले मेरो नातीको शव पनि ल्यायो होला नि है? मलाई हेर्न देऊ न।’
६५ वर्षीय एक हजुरबुवा दौडिँदै शवहरू राखिएको ठाउँमा पुग्छन्। सुरक्षाकर्मीहरू उहाँलाई सम्झाउँदै भन्छन्, ‘हजुर, आफ्ना मान्छे चिन्नुहोस्।’
शवको मुखको भाग मात्र खोलेर देखाइन्छ। उहाँ आशाको आँखाले हेर्नुहुन्छ। तर त्यो शव उनको नातीको हुँदैन।
आखिर नातीको शव नआएको रहेछ।
रसुवाको त्रिशूलीमा बस्दै आएका छोराबुहारी र नातीको जीवन रक्षाका लागि उनी दिनहुँ भगवानसँग प्रार्थना गरिरहेका छन्। तर नाती भने उनीहरूकै आँखाअगाडि बाढीमा हराएको थियो।
‘हे भगवान्, हामीले के पाप गरेका थियौँ? यस्तो चोट किन दियौ?’
उनको रोदनले वरिपरिको वातावरण नै स्तब्ध बनाउँथ्यो।
उनका छोरा र बुहारी बाढीबाट भाग्न सफल भएछन्। तर बच्चा कतै खेल्न लागेको थियो। एक्कासि आएको बाढीले उसलाई बगाएर लग्यो।
त्यसयता ती हजुरबुवा हरेक दिन हेलिकप्टरबाट रसुवामा मृत्यु भएकाहरूको शव नुवाकोटको देवीघाटस्थित रंगशालामा ल्याइन्छ कि भनेर हेर्न आउँछन्। हरेक पटक उनको मनमा एउटै आशा हुन्छ—आज नातीको शव आएको हुन सक्छ।
तर हरेक पटक उनी निराश भएर फर्किन्छन्।
००००
देवीघाटको रंगशाला र विदुरस्थित सैनिक ब्यारेकमा हरेक दिन आफन्तहरूको भिड लाग्छ।
कोही आफ्ना मान्छेको सास आएको छ कि भनेर हेर्न आउँछन्। कोही शव आएको छ कि भनेर। कसैले नाम हेर्छन्, कसैले फोटो। कसैले सुरक्षाकर्मीलाई आफ्नो आफन्तको हुलिया बताउँछन्।
फोटो र नामबाट पनि आफ्नो मान्छेको पत्ता नलागेपछि उनीहरू भारी मन लिएर त्यहाँबाट फर्किन्छन्।
कसैको आँखामा आँसु हुन्छ, कसैको अनुहारमा निराशा। तर धेरैको मनमा अझै एउटा सानो आशा बाँकी हुन्छ- ‘सायद मेरो मान्छे कतै जीवितै होला।’
माथि प्रस्तुत यी दृश्यहरू भाद्र १० गते भोटेकोसीमा आएको बाढी र त्यसपछि घटेका दर्दनाक घटनाक्रमका केही प्रतिनिधि कडी मात्र हुन्।
बाढी गएको यति दिन बितिसक्दा पनि आफन्तहरू देवीघाट, ढुंगे र आसपासका क्षेत्रमा पुगेर हरेक दिन एउटै प्रश्नको उत्तर खोजिरहेका छन्- ‘मेरो मान्छे आएको छ कि छैन?’
‘आमाबुबा कहिले आउनुहुन्छ?’ भन्दै बालबालिकाले सोधेको कारुणिक प्रश्न पनि सुन्न पाइन्छ।
बुढापाकाहरू भन्ने गर्छन्- विपद् बाजा बजाएर आउँदैन। यसको आगमन एकदम शान्त भएर हुन्छ, तर जाँदा सबैलाई अशान्त नाएर जान्छ।
ठ्याक्कै त्यस्तै भयो।
भाद्र १० गते बिहान करिब ९ बजे रसुवास्थित नेपाल–चीन सीमा छुट्याउने केरुङलाई केन्द्रविन्दु बनाएर आएको विनाशकारी बाढीले धेरैको जीवन तहसनहस बनायो। हजारौँले ज्यान बचाउनसमेत पाएनन्। सयौँ परिवार पानीमा बगे। कतिपय बगे पनि बाँच्न सफल भए।
कसैको परिवार बगरमा छुट्यो, कसैको घर भग्नावशेषमा पुरियो। कसैको व्यवसाय गयो, कसैको नागरिकता र कागजपत्र। कसैको बाल्यकालका सपना बाढीले बगायो।
जे जस्तो भए पनि विपद्को सामना गर्नुपर्ने रहेछ।
अहिलेसम्म पनि बाढी प्रभावित क्षेत्रहरूमा उद्धार र राहतको काम जारी छ। कतिपय मानिस १० दिनसम्म सुरुङभित्र सकुशल रहेर उद्धार भएका छन्। कतिलाई बाढीले भारत पुर्याएको छ भने कतिका शव नारायणी नदीतिर पुगेका छन्।
तर अझै कति मानिस कहाँ छन् भन्ने यकिन हुन सकेको छैन।
००००
चन्द्रज्योति माध्यमिक विद्यालयमा जे देखियो…
देवीघाट र विदुर बजार हुँदै हामी देवीघाटस्थित चन्द्रज्योति माध्यमिक विद्यालय, पिपलटार पुग्यौँ। त्यहाँ बाढी प्रभावितहरूलाई बस्न र खानाको व्यवस्था मिलाइएको थियो।
करिब ३०० जनाको हाराहारीमा बाढी प्रभावितलाई बस्ने व्यवस्था गरिएको रहेछ।
विद्यालयभित्र प्रवेश गर्दै गर्दा काठमाडौं महानगरपालिकाबाट खटिएको नेपाल स्काउटको समूहले खाना पकाउने र बाँड्ने काम गरिरहेको थियो। त्यहीँ बाढी प्रभावितहरूलाई सेभ द चिल्ड्रेनले राहत वितरण गरिरहेको थियो।
यसअघि विपद् प्रभावितका लागि बनाइएका होल्डिङ सेन्टरभन्दा चन्द्रज्योतिको होल्डिङ सेन्टर केही व्यवस्थित देखिन्थ्यो। खाना र पानीको व्यवस्थापन पनि स्वच्छ थियो। सबैजना एकै ठाउँमा बसेर खाना खाइरहेका थिए। परिवारहरूलाई पनि सकेसम्म एकै ठाउँमा राखिएको थियो।
राहत वितरणमा धाँधली हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले घरधनी र भाडामा बस्नेहरूका लागि छुट्टाछुट्टै कार्डको व्यवस्था गरेको थियो। रातो कार्ड घरधनीका लागि र निलो कार्ड भाडामा बस्नेहरूका लागि छुट्याइएको थियो। सोही आधारमा राहत वितरण भइरहेको थियो।
त्यही होल्डिङ सेन्टरमा थिए ७७ वर्षीय कृष्णबहादुर नेपाली।
हामीले उहाँलाई सोध्यौँ, ‘हजुरले अहिलेसम्म यस्तो बाढी कहिल्यै आएको थाहा पाउनुभएको थियो?’
उहाँले केही बेर रोकिएर भन्नुभयो-
‘यो बाढी होइन, प्रलय हो। बाढीले त घर डुबाउँछ। यसले त सबै सखाप नै पार्यो। यसलाई कसरी बाढी भन्नु?’
उहाँको जवाफ सान्दर्भिक लाग्यो।
उहाँका अनुसार २००८ सालमा आएको बाढीले यति ठूलो विनाश गरेको थिएन। त्यतिबेला घरहरू डुबेका थिए, तर २०८३ सालको बाढीले भने सबै कुरा सखाप पार्यो।
त्यही होल्डिङ सेन्टरमा रहेका बालबालिकाको बालमनस्थितिमा कुनै असर नपरोस् भन्ने उद्देश्यले कोशिश नेपालले ‘मनको कुरा गरौँ’ कार्यक्रम सञ्चालन गरिरहेको थियो। बालबालिकालाई चित्र कोर्न लगाइएको थियो। उनीहरू खेलिरहेका थिए, चित्र बनाइरहेका थिए र केही समयका लागि भए पनि बाढीले दिएको पीडा बिर्सने प्रयास गरिरहेका थिए।
महिला र पुरुषका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था थियो। परिवार भएका करिब पाँच परिवारसम्म एउटै कोठामा बसिरहेका थिए।
विद्यालयको एउटा कुनामा तीन महिनाकी सुत्केरी पनि थिइन्।
काठमाडौंमा रहेकी छोरीलाई सुत्केरी स्याहार्न भनेर आमाले उनलाई नुवाकोट बोलाएर लगेकी रहिछन्। तर उनी पनि बाढीको चपेटामा परिन्। समय बलवान् थियो कि विपद्को बीचमा पनि उनको बच्चा र आमालाई केही भएन। उनीहरू बाढीबाट भाग्न सफल भए।
त्यही होल्डिङ सेन्टरको अर्को कुनामा मैना दमाइ थिइन्।
उनले आफ्ना कागजपत्रतिर संकेत गर्दै भनिन्-
‘मेरो सर्वस्व गयो। कागजपत्र सबै बगायो। अब मेरो नागरिकता बन्छ कि बन्दैन?’
उनको प्रश्न केवल नागरिकता बन्ने वा नबन्नेको थिएन। त्यो प्रश्न एउटा नागरिकले आफ्नो पहिचान नै गुमाएपछि राज्यसँग गर्ने प्रश्न थियो।
उता खेल्दै गरेका बालबालिकाहरूको आफ्नै चिन्ता थियो।
‘मेरो स्कुलको झोला बाढीले बगायो।’
‘मेरो किताब पनि बगायो।’
‘स्कुल कहिले खुल्छ?’
उनीहरू खेल्दा खेल्दै आफ्ना अभिभावकलाई यस्तै प्रश्न गरिरहेका थिए।
बाढीले उनीहरूबाट झोला र किताब मात्र बगाएको थिएन। उनीहरूको नियमित बाल्यकाल पनि केही समयका लागि बगाइदिएको थियो।
००००
विद्यालयबाट केही पर एउटा रंगशाला थियो। त्यहीँ बाढीमा मृत्यु भएकाहरूका शव ल्याइन्थ्यो।
आकाशमा पटकपटक हेलिकप्टर देखिन्थ्यो। हेलिकप्टरको आवाज सुन्नेबित्तिकै आफन्तहरू उठेर दौडिन्थे।
‘हाम्रो मान्छेको शव ल्याएको छ कि?’
त्यो प्रश्नको उत्तर खोज्न उनीहरू रंगशालातिर पुग्थे।
शव हेर्थे। अनुहार हेर्थे। नाम खोज्थे। फोटो हेर्थे।
तर शव चिनिन नसकेपछि उनीहरू फेरि त्यही भारी मन लिएर फर्किन्थे।
बाढी गएको धेरै दिन हुन लागिसकेको थियो। तर कतिपय परिवारका सदस्य अझै भेटिएका थिएनन्।
अब उनीहरूको आशा राज्यसँग थियो। सुरक्षाकर्मीहरूसँग थियो।
‘हाम्रो मान्छेलाई खोजेर ल्याइदिन्छन् होला।’
यही विश्वास बोकेर उनीहरू दिनहुँ पर्खिरहेका थिए।
भोटेकोसीको बाढीमा कतिको मृत्यु भयो, कतिलाई बगायो, कतिलाई उद्धार गरियो- यति नै हो भनेर भन्न सक्ने अवस्था अझै थिएन। शवहरू अझै पत्ता लागिरहेका थिए। कतिपयलाई जीवितै उद्धार गरिएको थियो।
कसैको जीवन बचेको थियो, कसैको जीवन बगरमा रोकिएको थियो।
कसैको घर बाँकी थिएन, कसैको परिवार बाँकी थिएन।
तर सबैको एउटै प्रतीक्षा थियो- ‘मेरो मान्छे कहाँ छ?’
भोटेकोसीको बाढीले बगाएको पानी विस्तारै घट्दै जाला। बगर सुक्दै जाला। सडक खुल्दै जालान्। घर र संरचना फेरि बन्लान्। जीवन पनि विस्तारै सामान्य बन्दै जाला।
तर बगरमा आफन्त खोज्दै गरेका आँखाहरूको प्रतीक्षा यति चाँडै सकिने छैन।
हेलिकप्टरको आवाज सुन्दा शव आएको हो कि भनेर दौडिने ती पाइला, बगरमा नाम र अनुहार खोजिरहने ती आँखाहरू र ‘आमाबुबा कहिले आउनुहुन्छ?’ भनेर सोधिरहने ती बालमनहरूमा भोटेकोसीको बाढीले छाडेको घाउ लामो समयसम्म रहनेछ।
यो केवल एउटा बाढीको कथा होइन।
यो बाढीपछि आफन्त खोज्ने प्रतीक्षाको कथा हो।












