काठमाडौं । भक्तपुरमा सडक पार गर्ने क्रममा बसको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ। मंगलबार बिहान करिब ११:१५ बजे सूर्यविनायक नगरपालिका–८ स्थित इटभुचोकमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको हो।
प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेका अनुसार श्रेष्ठ भक्तपुर नगरपालिका–४ मंगलाछेँ घर भई हाल आदर्श टोलमा बसोबास गर्दै आएकी थिइन्। सडक पार गर्ने क्रममा गम्भीर घाइते भएकी श्रेष्ठलाई तत्काल भक्तपुर अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न बससहित २८ वर्षीय चालक निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तामाङ नुवाकोटको शिवपुरी गाउँपालिका–२ छाप घर भई हाल काठमाडौंको नारायणस्थानमा बसोबास गर्दै आएका छन्।












