काठमाडौं । काठमाडौंमा केही दिनदेखि देखिएको वायु प्रदूषण हट्न अझै केही दिन लाग्ने भएको छ । शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भइ आकाश खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल काठमाडौं उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको महाशाखाको भनाइ छ । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागको मौसम अहिले आंशिक बदली छ।












