काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा होमिएका बालेन शाह जनकपुर आइपुगेका छन्। आइतबार पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा पुगेर पदभार सम्हालेका थिए। त्यहाँबाट उनी जनकपुर पुगेका हुन्।
उनलाई भेट्न विमानस्थलदेखि नै ठुलो भिड जम्मा भएको थियो। समर्थकलाई छोटो सम्बोधन गर्दै उनले भोलिको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकाले सबैलाई भोलि भेट्ने र कार्यक्रममा आउन आग्रह गरे।
रास्वपाले सोमबार जनकपुरमा गर्न लागेको सभाका लागि उनी आइपुगेका हुन्। रास्वपाले जनकपुरबाट चुनावी सभाको सुरुवात गर्दै छ। रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।












