काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष बद्री केसी प्रमुख संरक्षकमा नियुक्त भएका छन्।
महासचिव चिरञ्जीवी खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै १३औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न नभएसम्मका लागि केसीलाई प्रमुख संरक्षकमा नियुक्त गरिएको जानकारी दिएका हुन्।
केसी यसअघि एनआरएनएको ११औँ र १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए। विभिन्न समूहमा विभाजित भएको एनआरएनएलाई सहमतिमा ल्याउँदै १२औँ महाधिवेशनमार्फत सर्वसम्मत नेतृत्व चयन गराउन उनले महत्वपूर्ण भूमिका खेलेको संघले जनाएको छ।
साधारण सदस्यका रूपमा एनआरएनएमा आबद्ध भएका केसी सन् २००९ र २०११ मा केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि उनी कोषाध्यक्ष, दुई कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष रहे। सन् २०२१ मा पहिलो पटक अध्यक्ष निर्वाचित भएका उनी २०२१–२०२३ र २०२३–२०२५ गरी लगातार दुई कार्यकाल अध्यक्षको जिम्मेवारीमा रहे।
व्यवसायीसमेत रहेका केसी सन् १९९० मा रुस पुगेका थिए। उनले सन् १९९६ मा बायोटेक्नोलोजीमा स्नातकोत्तर तथा सन् २००१ मा विद्यावारिधि गरेका हुन्।
शैक्षिक जीवनपछि उनी व्यवसायमा सक्रिय भए। सुरुमा इलेक्ट्रोनिक्स व्यापार गरेका उनले पछि मेडिकल सामग्रीको कारोबारमा प्रवेश गरे। हाल रुसमा आफ्नै चिया र कफी ब्रान्ड सञ्चालन गर्नुका साथै चिया प्रशोधन उद्योगसमेत स्थापना गरेका छन्। उनले नेपाल, भारत, श्रीलंका, भियतनाम, केन्या, चीन र इन्डोनेसियालगायतका देशबाट कच्चा पदार्थ आयात गरी व्यवसाय सञ्चालन गर्दै आएका छन्।
रुसमा व्यवसाय विस्तारसँगै केसीले नेपालमा जलविद्युत् क्षेत्रमा पनि लगानी गरेका छन्।












