काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । मकालु गाउँपालिकाको आम्राङमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अडिट-२ मा स्विच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन् ।
११ किलोमिटरको सुरुङ पूरा भएको आयोजनाले जानकारी दिएको छ । आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पुगेको बताइएको छ । आयोजनाको मुख्य सुरुङ मकालु–५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका–३ दिदिङ पुखुवा पावरहाउससम्म ११ दशमलव ८३७ किलोमिटर छ ।
ब्रेक थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महत्वपूर्ण काम भएको बताउँदै आयोजना सम्पन्न गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताए ।