काठमाडौं । संक्रामक रोग विशेषज्ञ डा.अनुप सुवेदीले लाखौँ बिरामीलाई सताएर आवासीय चिकित्सकको माग पूरा गर्ने चिकित्सकहरूको शैलीप्रति असहमति राखेका छन्। नेपाल चिकित्सक संघको आह्वानमा आकस्मिक र सघन उपचारबाहेक सबै सेवा बहिष्कार गरिरहेका चिकित्सकहरूलाई लक्षित गरी उनले आफ्नो पेसागत धर्मको दायरा स्मरण गर्न आग्रह पनि गरेका छन्।
डा.सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उपायबारे सोच्नुभन्दा पहिले कम्तीमा आफ्ना लक्ष्मण रेखा (रेड लाइन्स) बारे त स्पष्ट हुनुपर्यो, जुन किमार्थ नाघिने छैन। रेजिडेन्टको तलब बढाउनकै लागि कम्तीमा डाक्टरहरूले लाखौं बिरामीलाई सताउने काम गर्नै मिल्दैन भन्ने त स्पष्ट हुनुपर्यो। विशेष गरी फर्स्ट डु नट हार्म भन्ने मन्त्र जप्नेले।’
स्नातकोत्तर तह (पीजी) विद्यार्थी (आवासीय चिकित्सक) लाई निजी मेडिकल कलेजले दिनुपर्ने तलब नदिएकोमा विरोध गरी दबाब दिनुपर्ने भए पनि डाक्टरकै संगठनले लाखौं सन्तप्त सेवाग्राहीलाई अपरिमेय शारीरिक मनोसामाजिक पीडा दिने, कतिको ज्यान जोखिममा पार्ने कदम यति सामान्य बनाउनु कहालीलाग्दो सामाजिक नैतिक पतनको प्रतिनिधि दृष्टान्त भनी उनले टिप्पणी पनि गरेका छन्। साथै उनले प्रश्न गरेका छन्, ‘यदि अहिलेको दबाबले माग पूरा भएन भने के भोलि इमर्जेन्सी पनि बन्द गर्ने हो?’












