काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एकैपटक २९ वटा जहाज पार्किङ गर्न सकिने भएको छ। विमानस्थलको पार्किङ क्षमता दोब्बरले बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले जानकारी दिएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारीले अन्तर्राष्ट्रिय पार्किङ एप्रोनमा यसअघि ११ वटासम्म मात्र जहाज पार्किङ गर्न सकिने क्षमता रहेको बताए। अब भने न्यारोबडी जहाज मात्र राख्दा १८ वटासम्म, तथा वाइडबडी र न्यारोबडी मिश्रित गरी ६–६ वटासम्म जहाज पार्किङ गर्न सकिने उनले जानकारी दिए।
उनका अनुसार एप्रोन, रनवे र प्यारालल ट्याक्सी वे निर्माणको कार्य लगभग सम्पन्न भइसकेको छ। अब विमानस्थलको टर्मिनल भवनको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए।
१५ अर्बको लागतमा गुरुयोजना कार्यान्वयन
नागरिक उड्डयन प्राधिकरणले यात्रुको चाप अत्यधिक बढेसँगै त्रिभुवन विमानस्थलको दीर्घकालीन सुधार र स्तरोन्नतिका लागि गुरुयोजना अद्यावधिक गरी विस्तारको काम अघि बढाएको छ। १५ अर्ब रुपैयाँको लागतमा निर्माणाधीन योजनामा धावनमार्गसँग जोडिएको ट्याक्सी वे, अन्तर्राष्ट्रिय र आन्तरिक एप्रोन, समानान्तर ट्याक्सी वे, आन्तरिक वायुसेवाका लागि ह्याङ्गर लगायत संरचना निर्माण कार्य तीव्र गतिमा भइरहेको बताइएको छ।
प्राधिकरणका अनुसार आगामी वर्षहरूमा अझ बढी यात्रु र उडानको व्यवस्थापन गर्न सक्ने क्षमतासहित त्रिभुवन विमानस्थलको संरचना विस्तार भइरहेको छ।












