एजेन्सी । भारतको आन्ध्र प्रदेशमा भएको एक भीषण बस दुर्घटनामा कम्तीमा १९ जनाको ज्यान गएको छ। शुक्रबार बिहान करिब ३ बजे हैदराबादबाट बेंगलुरु जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेर आगलागी हुँदा ज्यान जाने घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्राप्त विवरणअनुसार बस गलत दिशाबाट आइरहेको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो। ठोक्किएपछि मोटरसाइकलको इन्धन ट्याङ्की फुट्दा आगो फैलिएको र त्यसपछि बस पूरै जलेको बताइएको छ।
दुर्घटनाका क्रममा बसमा कम्तीमा ३९ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार १९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकोले मृतक संख्या अझै बढ्न सक्ने आशंका प्रहरीले जनाएको छ।
आगो नियन्त्रणका लागि तत्कालै दमकल र उद्धार टोली घटनास्थलमा पुगेका थिए। तर बसमा लागेको आगो अत्यन्त तीव्र भएकाले धेरै यात्रुहरू बच्न नसकेको बताइएको छ। स्थानीय बासिन्दाहरूले प्रहरी र उद्धारकर्मीहरूलाई सहयोग गर्दै घाइतेहरूलाई नजिकैको अस्पताल पठाएका छन्।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको आन्ध्र प्रदेश प्रहरीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार मोटरसाइकल चालकले गलत दिशाबाट ओभरटेक गर्ने क्रममा बससँग ठोक्किएको र त्यसपछि दुवै सवारीसाधनमा आगलागी फैलिएको हुनसक्ने बताइएको छ।
दुर्घटनापछि घटनास्थलमा करुण र चिच्याहटले माहोल स्तब्ध बनेको थियो। जलेका शवहरू पहिचान गर्न कठिनाइ भएको र डीएनए परीक्षणमार्फत शव पहिचान गरिने तयारी भइरहेको जनाइएको छ।












